काठमाडौं । दलाल तथा मानवतस्करहरुको प्रमुख गन्तव्य बनाएको मुलुक हो युनाइटेड अरब इमिरेट्स (यूएई) । दलालहरुले भिजिट भिसामा काम दिलाइदिन्छु भन्दै दुवई पु-याएका ४० हजार नेपालीमध्ये ३० हजार नेपाली बिचल्लीमा परेका छन् । दुवईमा ती दलालहरुले प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म असुलेर युवाहरुलाई बिचल्ली बनाएको खबर फेला परेको छ ।

दुबईमै रहेका ती कम्पनीहरुले नेपालबाट भिजिट भिसामा काम दिलाइदिन्छु भन्दै मानव तस्करीको धन्दा नै चलाइरहेका छन् ।दुवईमै कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले नेपालबाट अवैध रुपमा भिजिट भिसामा सयौँ युवाहरुलाई दुवई लिएर गएको खुलेको छ । उक्त कम्पनीले आम्र्स गार्डलगायत विभिन्न काम लगाइदिन्छु भन्दै पाँच सय जना नेपालीलाई दुवई पु¥याएर अलपत्र पारेको खबर छ । रोजगारीको आश्वसन दिएर भिजिट भिषाको नाममा लाखौं असुलेर दुबई पुर्याई ठगी गर्ने कोमलराज उपध्यायको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उपाध्ययकै समूहमा रहेका पाँच जनालाई सर्लाही, रुपन्देही र काठमाण्डौं जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा पक्राउ गरेको हो । यद्यपी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीका सञ्चालक उपाध्याय भने अझै फरार छन् ।पक्राउ पर्नेमा राईनास नगरपालिका–३, लम्जुङका ४७ वर्षिया मधुबिलास बास्कोटा, दुधकुण्ड नगरपालिका–८, सोलुखुम्बुका ५४ वर्षिया होम बहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७ , काठमाडौंकी ३५ वर्षिया रंजना ढकाल प्याकुरेल, देवदह नगरपालिका–५, रुपन्देहीका ३० वर्षिया राजु भन्ने खुम बहादुर बस्याल कागेश्वरी मनोहरा नगरपालिका–७, काठमाडौंका ४० वर्षिया सन्तोष प्याकुरेल रहेका छन् ।
बास्कोटा जेठ १२ गते काठमाडौंको नयाँबसपार्कबाट पक्राउ परेका हुन् । उनको मुख्य भूमिका भने बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजि गर्ने र आर्थिक व्यवस्थापन गर्ने, सो वापत कमिसन लिने रहेको प्रहरीले जनाएको छ । जेठ १३ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका खड्का पीडितहरुको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने तथा बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने मध्ये मूख्य योजनाकार रहेको खुलेको छ ।
भिजिट भिसामा नेपालीहरुलाई दुवई पु-याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने प्रमुख मानव तस्कर हुन् : कोमलराज उपाध्याय । उनी त्रिनेत्र कन्सल्टेन्सिज नामक कम्पनीका मालिक हुन् ।दुवईको खालिद बिन अल वालेट रोडमा कार्यालय रहेको उक्त कम्पनीका विभिन्न दलालहरु नेपालसम्म सक्रिय रहेको पाइएको छ । उनीहरुले नै मुख्य रुपमा नेपालबाट भिजिट भिसामा नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै मानव तस्करी गर्दै आएका छन् ।उनकै कम्पनीले भिजिट भिसामा दुवई पु-याएका नेपाली सेनाका जवानहरुको बिचल्ली भएपछि उनीहरुसँग दलाल उपाध्यायले कागज गरेका छन् ।
उक्त कागजातमा उनले गत नोभेम्बर २७ मा एक हप्ताभित्र काम लगाइदिने प्रतिबद्धता गरेका थिए । तर, जनवरी सुरु हुँदा समेत काम नलगाएपछि बिचल्लीमा परेका युवाहरुले आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।नेपालबाट भिजिट भिसामा दुवई लाने चाँजोपाँजो भने सन्तोष सुवेदी र राजन शाह ठकुरीले मिलाएका थिए । उनीहरुले नै सेनाका जवानहरुबाट तीन लाखदेखि चार लाख रुपैयाँसम्म असुली गरेका थिए ।
अध्यागमन विभागका उच्च अधिकारीहरुकै मिलेमतोमा मानव तस्करीको डरलाग्दो रुट दुवई बनेको छ । वास्तविक रुपमा दुवई घुम्न जाने पर्यटकको हुलिया कस्तो हुन्छ भन्ने जानकारी विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई नहुने होइन । नेपालबाट रोजगारीकै सिलसिलामा भिजिट भिसामा दुवई जानेहरुले लगाउने कपडा र वास्तविक पर्यटन भिसामा जानेहरुले लगाउने कपडा समेत फरक हुने भए पनि विमानस्थलस्थित अध्यागमनका कर्मचारीले भिजिट भिसामै दुवई जानेका लागि रोक लगाएको छ ।

