काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको औचित्य समाप्त भएको बताएका छन् । उनले अब कुनै पनि हालतमा राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताए । पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा आएका अध्यक्ष थापाले बिहीबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस, एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन सम्भव नभएको बताए ।

उनले आफूले राजसंस्थालाई टाउकोमा बोकेर हिडेको तर त्यो अभियानमा राजा र राजसंस्थाको कुनै प्रकारको सहयोग नपाएको बताउँदै बहुलठ्ठी पारश शाहका लागि सति जना नसक्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सैद्धान्तिक रुपमा विचलन आएको बताउँदै उनले राष्ट्रिय प्रतातन्त्र पार्टीले राजसंस्थाको एजेण्डा छाडेमा ससम्मान पार्टी एकता गर्न सकिने भनाई राखे ।
तर, राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलमा रहेकाले त्यो भने सम्भव नभएको उनको भनाइ छ । राप्रपामा सैद्धान्तिक रुपमा विचलन आएपछि राप्रपा नेपाललाई पुरजाग्रित गरिएको र देशको धरातललाई आत्मसात गरेर नयाँ सोचका साथ राप्रपा नेपाललाई अघि बढाउन खोजिएको उनले बताए ।
सोही अनुसार छोटो अवधिमा देशका ७७ वटै जिल्ला र भातृसंगठानहरुको संरचना तयार भइसकेको अध्यक्ष थापाले बताए । राष्ट्रियता, समाजवाद र हिन्दूराष्टको एजेण्डा बोकेको राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति, दुई तहको संघीयताको वकालत गरिएको उनले बताए ।
पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र सर्वसहमतिमा गर्नुपर्ने र त्यसो हुन नसकेमा त्यस विषयमा जनमत संग्रह गर्न सकिने उनको भनाइ छ । अहिले मुलुकमा लोकतन्त्रको आवहरणमा सर्वसत्तावाद हावी भएको, बाह्य शक्तिको चलखेल र प्रभाव तिब्र रुपमा बढेर गएको तथा सरकारको नीति र अकर्मण्यताले महंगी बढेर गएको उनले आरोप लगाए ।
