काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले सरुवा र बढुवाका लागि राजनीतिक दलका नेताको घरघर धाउने अधिकृतको रेकर्ड राखिने चेतावनी दिएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालमा भएको पत्रकार भेटघाटमा महानिरीक्षक सिंहले सोर्सफोर्सका आधारमा हुने सरुवा–बढुवाले संगठनको गरिमा धुलिसात हुने उल्लेख गर्दै सरुवा र बढुवा क्षमताका अधार हुने बताए।
राजनीनिक दलको नेताका घरघर धाउने प्रहरी अधिकृतको गतिविधि प्रधान कार्यालयले सूक्ष्म ढंगले निगरानी गरिरहेको उनले भेटघाटमा जानकारी दिए। उनले भने, ‘संगठनमा सरुवा बढुवा मेरिटको आधारमा हुनुपर्छ। त्यो अब पनि कायम रहन्छ। सोर्सफोर्सका आधारमा हुने सरुवा–बढुवाले संगठनलाई बिगार्छ। कुनै अधिकृत सरुवा–बढुवाका लागि नेताको घरघर धाउने सुन्नमा आए उनीहरूको प्रधान कार्यालयले रेकर्ड राख्नेछ।’

















