काठमाडौं। प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले गणतन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति श्रद्धाअर्पण गर्दै विभिन्न संघर्षका क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका सम्पूर्ण नेपालीप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै, जनताको शासन सुनिश्चित गरेको आजको दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि युगिन महत्व बोकेको ऐतिहासिक दिन हो। गणतान्त्रिक शासन व्यवस्थामा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन्। जनताका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाका रुपमा यस शासन व्यवस्थालाई लिइन्छ।
यही शासन व्यवस्थाको स्थापना गर्नका लागि नेपाली जनताले विभिन्न कालखण्डमा राजनीतिक संघर्षहरु गर्नुपर्यो। जनताको बलिदानपूर्ण राजनीतिक संर्घषको फलस्वरुप हामी नेपालीले आजको दिन प्राप्त गर्न सफल भएका हौं। यसैको जगमा टेकेर लोकतान्त्रिक गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी शासन व्यवस्थासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण भएको छ।
नयाँ संविधानले परिकल्पना गरेको जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजबादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्नु यस संविधानका विशेषाताहरु हुन्।
नेपाली समाजमा सदिऔदेखि रहँदै आएको जातीय छुवाछूतलाई संविधान तथा कानूनले दण्डनीय बनाएको छ। तर, पनि समाजमा जातीय छुवाछूतका घटनाहरु घटिरहेको यस सन्दर्भमा संविधानले परिकल्पना गरेका सबै प्रकारका जातीय छुवाछूतको व्यवहारिक रुपमा नै अन्त्य गर्न हामी सबै तत्पर भई लाग्न जरुरी छ।
देश ‘समृद्ध नेपाल-सुखी नेपाली’को अभियानमा अगाडि बढिहरेको बेलामा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले विभिन्न व्यवधानहरु सृजना गरेको छ।
यसले मानव स्वास्थ्यमा मात्र नभई विश्वकै सामाजिक तथा आर्थिक गतिविधि ठप्पप्राय बनेको छ। नेपालको पनि सामाजिक तथा आर्थिक गतिविधिमा संकुचन आउँदा गरिबी तथा बेरोजगारी बढ्ने देखिन्छ। यी विभिन्न चुनौतिको अन्त्य गर्दै वर्तमान सरकारले समृद्ध नेपालको अभियान पूरा गर्ने विश्वास लिएको छु।
अन्त्यमा, गणतन्त्र दिवस २०७९ को यस अवसरमा नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षालगायतमा सबै जनताको पहुँच हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु।

















