सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले आफूलाई सम्मान समारोहमा सहभागी बन्ने रुची नभएको बताएका छन् ।उनले आफूले मात्रै काम गर्न चाहेको बताएका छन् । ‘म काम गर्न चाहन्छु,’ उनले भनेका छन् ।

अन्य जनता तथा संघसंस्थाहरूले पनि आफ्नो भावना र चाहनाको ख्याल गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुची छैन ।’
उनले पदभार ग्रहण गर्दै पनि आफू बसिनरहे, बाहिर फिल्डमा जाने बताएका थिए । पदभार ग्रहण गर्दै उनले भनेका थिए, ‘मलाई सुकिलो–मुकिलो हुनु छैन । म बस्ने होइन, फिल्डमा गएर काम गर्ने हो ।’
झन्डै एक दशकयता धरानका विभिन्न सामाजिक समस्याहरूबारे आवाज उठाउँदै आएका उनी यसपटकको स्थानीय तहको निर्वाचनमा फराकिलो मतान्तरका साथ जितेका छन् ।

















