वीरगँज । वीरगञ्ज महानगरपालिका मेयरमा नवनिर्वाचित भएका राजेशमान सिंहलाई संघीय सांसद् प्रदीप यादवले चाँदीको मुकुट लगाएर बधाई दिएका छन् ।

मंगलबार बिहान सम्पन्न वीरगञ्ज महानगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाम अनुसार ४६ हजार २ सय १५ मत पाएर मेयर पदमा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहलाई सांसद् यादवले चाँदीको मुकुट लगाएर बधाई सहित सम्मान गरेका हुन् ।
मुकुट लगाएर तस्विर सार्वजनिक गर्दै यादवले सिंहक जित सम्पूर्ण वीरगञ्जवासीको जित भएको प्रतिक्रिया दिएका छन् ।
यादवले हिन्दी र नेपाली भाषा मिसाएर लेखेका छन् “हम साथ लड़े थे, साथ जिते हैं। हम साथ रहेंगे, साथ चलेंगे । यो जीत हाम्रो होइन, यो हरेक वीरगञ्जबासी को हो ।”
सार्वजनिक गरिएको दुई वटा तस्विरमध्ये एउटामा यादवले सिंहलाई अंगालो मारेका छन् भने अर्कोमा दुवैले सँगै मात उठाएको देख्न सकिन्छ ।

सिंहलाई मेयर जिताउनुमा सांसद् यादवको ठूलो योगदान छ । यादवले नै सिंहलाई लोसपाबाट ल्याएर जसपा प्रवेश गराएका थिए ।
वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगी जसपा त्यागेर एमाले गएपछि उनिसँग प्रतिष्पर्धा गर्न यादवले सिंहलाई जसपा ल्याएर मेयरको उम्मेदवार बनाएका थिए ।सिंह गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट मेयर लडेर तेस्रो भएका थिए ।
