काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउन परेको बताए ।
‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन, यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए ।
‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला, यद्यपि नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतले भने ।
निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले बताए ।
‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ, मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौँ भन्न सक्छौँ,’ उनले भने ।
