काठमाडौं,जेठ ११ गते आइतबार । कोरोना भाइरसलाई लिएर विश्वनै त्राहित्राहि रहेको बेला नियन्त्रणका लागि एकजुट हुने भनेर घोषणा गरिएको ‘सार्क आपतकालीन कोष’ भने अलपत्र परेको छ । आपतकालीन अवस्थामा खोलिएको भनिएको कोरोना भाइरस (कोभिड–१९) आपतकालीन कोषको विषय अहिले सेलाएको छ । दक्षिण एसियाली राष्ट्रमा संक्रमणले दिन प्रतिदिन भयावह रूप लिँदै गए पनि सावधानीका कुनै उपाय अवलम्बन गरिएको छैन ।

सार्क मुलुकमा महामारी नियन्त्रण हुनुभन्दा पनि फैलने क्रम बढेको छ । सार्क राष्ट्रले भाइरस फैलन नदिन लकडाउन मात्रै एउटा उपायका रूपमा लिएका छन् । तर, संक्रमणको दर तीव्र गतिमा फैलिए नियन्त्रण काबुबाहिर जाने अवस्था छ ।
कोरोना भाइरसविरुद्ध जुध्न सार्कका आठ मुलुकले कोभिड– १९ आपकालीन कोष स्थापना गरे पनि सो कोष प्रभावहीन बन्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ चैतमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेताहरूको भिडियो कन्फरेन्समा सो कोषमा १ करोड अमेरिकी डलर राख्ने घोषणा गरे । तर, आपसी सहमति र एकता नहुँदा यो घोषणामै सीमित भएको छ ।
श्रीलंकाले ५० लाख डलर दिने घोषणा गरेको थियो । त्यसपछि बंगलादेशले १५ लाख डलर, नेपाल र अफगानिस्तानले १०–१० लाख डलर, मालदिभ्स र भुटानले एक–एक लाख डलर कोषमा थप्ने घोषणा गरेका थिए ।
पाकिस्तानले भने अहिलेसम्म कोषमा योगदान गर्ने घोषणा गरेको छैन । पाकिस्तानबाहेकका देशले घोषणा गरे पनि हाल सो आपतकालीन कोष निष्प्रभावी बनेको छ । पाकिस्तानले भारतले नेतृत्व गरेको कोषमा सहयोग घोषणा नै गरेन । अहिले सार्क मुलुकका सबै देश आआफ्नै शैलीमा कोरोना भाइरसविरुद्ध लडिरहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिँदै गर्दा विश्वकै दोस्रो बढी जनसंख्या रहेको भारतमा १ लाख २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली सार्क मुलुकमा सबैभन्दा बढी क्षति भारतमा भएको छ भने थोरै संख्या भुटानमा देखिएको छ ।
पछिल्ला दिनमा भात्रै भारतमा दैनिक ६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ । कोरोनाबाट मृत्यु हुनेमा सार्क मुलुकमा भारत पहिलो नम्बरमा छ । हालसम्म कोरोनाबाट ३ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना प्रभावित मुलुकको ११ नम्बरको सूचीमा भारत छ ।
भारतपछि दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५२ हजार ४ सय ३७ जना पुगेको छ । कोरोनाबाट पाकिस्तानमा १ हजार १ सय १ जनाको मृत्यु भएको छ । पाकिस्तानपछि सबैभन्दा बढी प्रभावित मुलुक बंगलादेशमा ३२ हजार ७८ जना संक्रमित भएका छन् । जहाँ ४ सय ५२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । त्यस्तै, अफगानिस्तानमा ९ हजार ९ सय ९८ जना कोरोना संक्रमित भेटिएका छन् । २ सय १६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भइसकेको छ ।
त्यस्तै, श्रीलंकामा १ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म नौ जनाको मृत्यु भएको छ भने ६ सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा भने पछिल्लो २४ घण्टामा ७५ जना संक्रमित थपिएसँगै ५ सय ९१ जना पुगेको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । दक्षिण एसियाली मलुकमा भुटानमा भने अन्य देशको तुलनामा सबैभन्दा थोरै २१ जनामा मात्रै संक्रमित भेटिएका छन् । जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् । भुटानमा अहिलेसम्म मानवीय क्षति भएको छैन । राजधानी दैनिक बाट
