काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

विशेष गरेर नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहीत मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रहरु मध्य मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ भने सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।
त्यहाँ पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ ।
प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत काम गरिरहेको बताए । उनले देशभरका सबै मतदान केन्द्रहरुमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी फौज परिचालन भइसकेको बताए ।
जनप्रभाव सँग कुरा गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको क्रममा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च हिमाली भेगहरु र खुला सीमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । उनले खुला नाका भएका क्षेत्रहरुमा साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरुमाथि नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको बताए ।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई भयरहीत बनाउन संगठनको तर्फबाट गर्ने कामहरु मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूर्ण जिम्मेवारीका लागि पनि नेपाल प्रहरी तयार रहेको बताए । उनले मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर त्यो अनुसारको तयारी गरेको उनले बताए ।
प्रहरी महानिरीक्षक सिंहले भने, ‘आसन्न स्थानीय तहको निर्वाचन आउन केवल एकदिन बाँकी छ । त्यसको लागि नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरीको आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा अघि बढीसकेको अवस्था छ । यो अन्तिम चरणमा छ । नेपाल प्रहरीले नेपाल अधिराज्यभरका ७७ वटा नै जिल्लाहरुमा पुग्नुपर्ने सबै मतदान केन्द्रहरु र मतदान स्थलहरुमा परिचालित हुने १ लाख ६५ हजार भन्दा बढी फौज म्यादी प्रहरीसमेत परिचालन भइसकेको छ र मंगलवार बेलुकासम्ममा सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु पुगिसक्नु भएको अवस्था छ ।’
उनले थपे, ‘निर्वाचनको क्रममा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने सिलसिलामा उच्च हिमाली भेगहरुमा जहाँ सजिलै सुरक्षाकर्मीहरु पुग्न वा निर्वाचन आयोगसँग सम्बद्ध कर्मचारीहरु पुग्न नसक्ने ठाउँहरुमा पनि, दार्चुला जिल्लाका केही मतदान केन्द्रहरुमा, ताप्लेजुङ ओलङचुङ्गोला जस्ता क्षेत्रहरुमा समेत हेलिकप्टको माध्यमद्वारा मतदानसँग सम्बन्धित सामग्री र कर्मचारीहरु पुगिसकेको र सुरक्षाकर्मीहरु तैनाथ भइसकेको अवस्था छ । समग्रमा निर्वाचनको समयमा देखिनसक्ने जोखिम, भौगोलिक विकटता, खुला नाका, साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरुलाई समेत नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको अवस्था छ ।’
उनले फेरि भने, ‘सबै सुरक्षा संयन्त्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेनाको इन्फर्मेशन टिम, सशस्त्र प्रहरीसमेतको संयुक्त निगरानीमा यी तत्वहरुलाई निस्तेज र निस्क्रिय पार्ने काममा सुरक्षाकर्मीहरु लागिसकेको अवस्था छ । नेपाल प्रहरीले आफैँले मात्र सम्पादन गर्नुपर्ने निर्वाचन सिलसिलाका मुलभुत कामहरु निर्वाचन मतदान केन्द्रको सुरक्षा हो । मतपेटिकाको सुरक्षा हो, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा लगायतका कामहरु गर्ने, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूर्ण जिम्मेवारीहरु पनि पूर्ण गरिसकेको अवस्था छ । साथै मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर त्यो अनुसारको तयारी गरेको अवस्था छ ।’
त्यस्तै उनले आसन्न निर्वाचन भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउने कुरामा नेपाल प्रहरी विभिन्न किसिमको प्रविधिको प्रयोग गरेर, निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने कामसमेत अघि बढाएको जानकारी दिएका छन् । उनले भने, ‘साथै ४ वटै सुरक्षा निकायहरुले जुनकुनै किसिमको चुनौतिलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेको छ । त्यसैले नेपाल प्रहरीले यो निर्वाचन एउटा चुनौतीको रुपमा लिएर समृद्ध शान्ति सुरक्षा दिने हिसावले अघि बढिसकेको अवस्था छ । यहाँहरुले भयरहीत वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्न सक्नुहुनेछ ।’
प्रहरी महानिरीक्षक सिंहले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए । उनले ४ वटै सुरक्षा निकायहरुले जुनकुनै किसिमको चुनौतीलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेकोले मतदाताले भयरहीत वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्नसक्ने बताए ।

















