चितवन,जेठ १० गते सनिवार । विश्वब्यापी महामारीका रूपमा मानव सभ्यतालाई नै चुनैती दिएको कोरोना भाइरसको महामारीबाट बच्न उच्च सतर्कता अपनाउन भरतपुर महानगर प्रमूख रेनु दाहालले आग्रह गरेकी छिन्। महानगर प्रमूख दाहालले एक अपिल जारी गर्दै भरतपुर महानगरवासीलाई धैर्यदा देखाउँदै घरभित्र मात्रै बसिदिनुहुन आग्रह गरेकी हुन्।

जारी अपिलमा भनिएको छ, ‘नेपालमा आजका मितिसम्म ४ सय ८७ जना व्यक्तिमा संक्रमण भएको छ भने ४९ जना निको भइ घर फिर्ता भइसकेका छन् भने ३ जनाको मृत्यु समेत भइसकेको छ। नेपालको छिमेकी देश भारतमा यसको संक्रमण तीव्र रुपमा बढ्दै गएको र रेल सेवा संचालन भएपछि मानिसको आवत जावत बढ्ने हुँदा नेपाललाई थप चुनौती आएको छ।’
‘हाल भारतबाट आउने मानिसको संख्या दिनप्रति दिन बढि रहेको छ र संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ। यस सन्दर्भमा यसको रोकथामको लागि सचेतना, रोकथामका उपायको अवलम्वन र प्रभावकारी उपचारका विधिहरु अपनाउनु जरुरी देखिन्छ’ महानगर प्रमूख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ, ‘भरतपुर महानगरपालिकामा पनि संक्रमित व्यक्तिहरु देखिन थालेको अवस्था छ। आज मात्रै भारतबाट आएका भरतपुर महानगरपालिका वडा नम्बर ६ मा २ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस अवस्थामा सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदी बहिनीहरुमा धैर्यता देखाउँदै आ–आफ्नो घर भित्र बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
महानगर प्रमूख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ, ‘स्थानीय प्रशासनले तोकेका पसल एवं व्यवसायहरु निश्चित समयसम्म संचालन गर्नका साथै महानगरभित्र हरेक वडामा न्यूनतम १० वेडको क्वारेन्टिन स्थापना भइसकेकोले विदेश तथा जिल्लाबवाहिरबाट आउनुभएका सम्पूर्ण महानुभावहरु वडामा स्थापना भएका क्वारेन्टिनहरुमा बसी आफू र समाजप्रतिको दायित्व पूरा गर्नुहुन हार्दिक अपिल गर्दछु।’


















