काठमाडौं। आज १ मई १ तारिख, १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। अमेरिकाका श्रमिकहरूले सडकमा उत्रिएर बलिदानीपूर्ण आन्दोलनपश्चात् सबै क्षेत्रका श्रमिकका सुविधा सुनिश्चितताका लागि विजय हासिल गरेको दिनका रूपमा १ मई चर्चित छ।

८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सन् १८८६ मा अमेरिकामा सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा विश्वर यो दिवस मनाइन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा यस्तो आन्दोलन भएको थियो। सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो।
१ मईलाई श्रमिकहरूले एकता, वीरता र सङ्घर्षको इतिहासका रूपमा स्मरण गर्छन् । नेपालका मजदुर सङ्घ, सङ्गठनले मर्यादित श्रम, सुरक्षित रोजगार विकास र समृद्धिका आधार सुनिश्चित गर्न सरकारसहित अन्य सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। नेपालमा ट्रेड युनियनहरूले देशभर अन्तरक्रिया, छलफलसहित विभिन्न रचनात्मक कार्यक्रमसहित दिवस मनाउने परम्परा रहेको नेपालका ट्रेड युनियन महासङ्घहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष प्रेमलकुमार खनालले बताए ।
‘श्रमिक र श्रम क्षेत्रका लागि १ मई विशेष पर्व हो, प्रजातन्त्र स्थापनाका लागि विराटनरमा २००७ सालमा मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउने गरिएको हो’, उनले भने । श्रमका विषयमा कानुन नीति नियम बने पनि श्रमिकहरूले आफ्ना हक अधिकारको सुनिश्चितता, विभेदकारी श्रम खारेज गर्न सरकार र रोजगारदातासँग ध्यानाकर्षण गराउने क्रम अझै यथावत रहेको उनको भनाइ छ। २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यो दिवसमा सार्वजनिक बिदा दिन थालेको हो।
श्रम ऐन/श्रम नियमावली, ट्रेड युनियन ऐन/नियमावली, वोनस ऐनलगायतका ऐन नियममा समय सापेक्ष सुधार र संशोधन गरेर कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ। अर्धन्यायीक अधिकार सहितको राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, राज्यका सम्पूर्ण संरचनामा कम्तीमा १० प्रतिशत श्रमिकवर्गको प्रतिनिधित्व सुनिश्चत गर्न, सबै स्थानीयतहमा श्रमिकहरूको अभिलेखीकरण गर्नेलगायतका व्यवस्था गर्न विज्ञहरूले सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने गरेका छन्।

















