काठमाडौ । नेपाल प्रहरीमा एसपी सम्मको सरूवा तथा काज गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई छ । तर महानिरीक्षकले स्वविवेक प्रयोग गरेर सरूवा वा काज गर्न सक्दैनन् । हरेक सरूवा र बढुवामा गृहमन्त्रीको मात्रै होइन प्रधानमन्त्री देखि अन्य ठूला पार्टी र नेताको हस्तक्षेप हुदै आएको छ ।

जसको कारण प्रहरीका हरेक सरूवा र बढुवा बिबादास्पद हुदै आएका छन् । त्यसैले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप भएको कारण चाकडी र चाप्लुसी एवं रकम बुझाउन सक्नेहरूले सधै राम्रा र अतिरिक्त आम्दानी हुने ठाउँहरूमा मात्रै पोष्टिङ पाउँछन् भने उनीहरूको नै छिटोछिटो बढुवा पनि हुने गर्दछ।
हालै चार जना एसपीको काज सरूवा भएकोमा दुई जनाको मात्रै कार्यान्वयन भयो भने दुईको भएन। कार्यान्वयन भएकाहरूमा कैलालीका एसपी विश्व अधिकारी मुख्यालय तानिए भने कैलालीमा सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ। कार्यान्वयन नभएकाहरूमा एसपी सानुराम भट्टराई र प्रजित केसी रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खांडले सानुराम भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौको मुद्दा शाखा हेर्ने गरि काज गर्न लगाएका थिए भने प्रजित केसीलाई दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा काज गर्न लगाएका थिए। भट्टराई दंगा नियन्त्रण गण त्रिपुरेश्वरमा कार्यरत छन् । तर त्यो कुरा प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि दुबैको काज सरूवा रद्द भएको छ।
केही महिना पहिले मात्रै झापाको प्रहरी प्रमुखबा दंगा गणको प्रमुख बनेका भट्टराईलाई काठमाडौं जिल्लाको मुद्दा हेर्ने गरि काज गर्न गृहमन्त्री खांडले आइजिपी शैलेश थापा क्षेत्रीलाई दबाब दिएका थिए। प्रहरी निरीक्षकमा भर्ना हुदा देखि नै बिवादमा तानिदै र हरेक पोष्टिङमा सधैं अनेकौं काण्डमा मुछिदै आएका भट्टराईले प्रहरीको सरूवा नीति बिपरित झापाबाट दंगा गणको प्रमुख बनेका थिए नै हुदाहुदै काठमाडौ परिसरमा एक जना मात्रै एसपी रहने व्यवस्था भए पनि भट्टराईलाई नै भनेर गृहमन्त्री खांडले थप एक जना एसपी राख्ने व्यवस्था मिलाएका थिए।
बामपंथी त्यसमा पनि नेकपा एमालेसंग अति नजिकको सम्बन्ध रहेको मात्रै होइन केपी ओली प्रधानमन्त्री हुदा उनको पिएसओ समेत बसेका भट्टराईलाई काठमाडौ परिसरको काज गरेको थाहा भए पछि प्रधानमन्त्री शेर बहादुर देउवाको ठाडो आदेशमा रद्द गरिएको छ।
एसपी सानुराम भट्टराई र परिसरकै एसएसपी सुदिप गिरीले गृहमन्त्री बालकृष्ण खांडकी श्रीमती मन्जु खांडसंग भाइ टीका लगाउने गरेको सम्बन्धका कारण श्रीमतीकै दवावमा गृहमन्त्री खांडले उक्त काज सरूवा गर्न आइजिपी थापालाई बाध्य पारेको समेत हाम्रो समाचारस्रोत बताउँछ ।
कैलालीका एसपी विश्व अधिकारी ९ महिनामै तानिएका छन् । उनी २०७८ असार २७ मा कैलालीको प्रहरी प्रमुखमा हाजिर भएका थिए । कैलालीमा एकपछि अर्को घटना घट्दा पनि शान्तिसुरक्षा कायम गर्न अक्षम भएको आरोपमा उनलाई तानिएको छ । एसपी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले चैत ३० मा फिर्ता गरेको हो । कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई काजसरुवा गरिएको छ ।

