एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् ।मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एकदिने युद्धविराम घोषणा गरेको छ ।तर, युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताए ।
गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन् ।
टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ‘ठूलो मात्रामा’ कटौती गर्ने बताएको थियो ।रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले ‘आपसी विश्वास बढाउनका लागि’ सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए ।
