काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्नसक्ने स्थिति रहेको बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुई वटा गठबन्धनका बीचमा विभाजित हुने उनले बताए । सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए ।
उनले भनेका छन्, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलीय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ ।’
मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडि बढेको उल्लेख गर्दै उनले थप भनेका छन्, ‘संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडि लान सकिदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फ्याक्टर हो भन्थे । अब त्यो त उन्मुलन भएर गइसक्यो । अहिले स्थिरताको फ्याक्टर भनेको हाम्रो संविधान हो । त्यो संविधानलाई हलचल गर्न नदिइकन त्यसलाई रक्षा गरेर लानु अहिलेको निम्ति, यो कार्यनीतिक कालखण्डको निम्ति एकदमै जरुरी भएको छ ।’
संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि आफूहरुले पाँचदलीय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भएको बताउँदै उनले भने, ‘अब पनि यसलाई दृढतापूर्वक एकताबद्ध भएर जाने कुराहरुमा हामी सबैले निर्णय पनि गरिसकेका छौँ ।’
त्यस्तै उनले गैर आवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए । आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उनले जोड दिएका थिए ।

















