महोत्तरी । महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय गौशालाको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ बर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।ज.९ प. ८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए ।
धिरजले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

















