सर्लाही । प्रहरीकै सेटिङमा दर्जनौ अवैध भट्टीहरुले घरेलु मदिरा उत्पादन गर्दै आएको तथ्य खुलेको छ । सर्लाहीको सदरमुकाम समेत रहेको मलगंवा नगरपालिका र मलगंवा नपाको वडा नं. ५ र ६ क्रमश भाँड्सर र खुटौनामा ठूलो मात्रामा अवैध घरेलु मदिरा उत्पादन भइरहेको स्थानीयहरुले बताएका छन् ।

छिमेकी मुलुक भारतको बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्रीवितरणमा बिहार सरकारले प्रतिबन्ध लगाएपछि तराईका सिमावर्ती जिल्लाहरूमा अवैध रक्सी भट्टीहरूले मदिरा उत्पादन गरेर बिहारमा बिक्रीवितरण गर्ने विकृति बढ्दै गएको छ । भने सिमावर्ती क्षेत्रमा मदिरा पसलहरु पनि प्रशस्तै खुलेका छन् ।
भट्टी संचालक र प्रहरीबीच रकमको सेटिङ भएपछि निर्वाध रुपमा मदिरा उत्पादन भइरहेको स्थानीयहरुले बताएका छन् । रातभरि मदिरा उत्पादन गर्ने कार्य हुन्छ । धुँवाको मुस्लो र उत्पादन भइरहेको रक्सीको गन्धबाट पीडित स्थानीयहरुले नियमित गुनासो गरिरहेका हुन्छन् । केही महिना अगाडि भाँडसरका एक स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेता पनि कुनै सुनुवाइ हुन नसकेको पीडितले बताए ।
प्रहरी प्रशासनलाई महिनाबारी दिएर निर्वाध रुपमा दैनिक घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण भइरहेको स्थानीयहरु गुनासो गर्दै आएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगको सेटिङकै कारण प्रहरीले आजसम्म कुनै पनि भट्टि भत्काउन वा मदिरा उत्पादन माथी रोक लगाउन नसकेको स्थानीयहरुले जनाएका छन् । तलदेखि माथिसम्म प्रहरी प्रशासनलाई महिनाबारी दिएरै सो अवैध भट्टी चलाइरहेको स्थानीयहरु बताउँछन् ।
दैनिक उत्पादन हुने घरेलु मदिराको मुख्य बजार भारतको बिहार राज्य रहेको छ । भने जिल्लाको विभिन्न स्थानदेखि प्रदेश तथा काठमाडौंसम्म प्रहरी प्रशासनको सेटिङमा निर्यात हुने गरेको स्थानीयहरुको दाबी छ ।
स्रोतका अनुसार, प्रहरी चौकी भाँड्सरका इन्चार्ज सहायक प्रहरी निरीक्षक उपेन्द्र यादव र बिओपी भाँड्सरका इन्चार्ज सशस्त्र प्रहरीका सई दिपेन्द्र खड्काले अबैध मदिरा भट्टी चलाएरै मासिक लाखौं रुपैयाँ रकम उठाउने गरेका छन् ।
भाँड्सरमा मात्रै १५ वटा मदिरा भट्टी सञ्चालनमा रहेको छ । जसमध्ये १० वटा ठुलो र ५ वटा सानो भट्टी रहेको छ । ठूलो भट्टीलाई मासिक ७ हजार र सानो भट्टीलाई मासिक ४ हजार रेटनै तोकिएको स्रोतले बताएको छ । भाँड्सरका प्रत्येक मदिरा पसलबाट असई यादव र सशस्त्र प्रहरीका सई खड्काले महिनावारी रकम समेत असुल उपर गर्दै आएको स्रोत भन्छ । त्यति मात्रै नभएर बालुवा, गिट्टी समेत यस नाकाबाट निर्वाध रुपमा भारत जाने गरेको छ । बालुवा, गिट्टीको रेट प्रती टेलर १ हजार तोकिएको स्रोत बताउँछन् ।
प्रहरीकै सेटिङमा भन्सार छलेर भारतीय सामग्रीहरु चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, खसी, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ । भने तस्करहरुले नेपाल तर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैंची, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारत तर्फ यस नाकाबाट चोरी निकासी गर्दै आएका छन ।

















