सिराहा । सिराहा प्रहरीले होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाले होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको हो।

पर्वमा रमाईलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन आग्रह गरिएको हो । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ ।
रङ र अबिरका साथ एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए ।कोरोनाको जोखिम यथावत रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो।
यहाँका मुख्य बजारका विभिन्न क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको उनले बताए । सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यो वर्षको होली पर्व पहाडी र हिमाली क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ ।

















