वासिंटन , जेठ ५ गते सोमबार । अमेरिकी साइबर आपराधिक गिरोहले एक ‘ल फर्म‘ ह्याक गर्दै यदी आफूले ४२ मिलियन डलर भुक्तान नपाए राष्ट्रपति डोनल्ड ट्रम्पका सूचना सार्वजनिक गरिदिने चेतावनी दिएको छ ।
उक्त समूहले ट्रम्पसँग सम्झौता गरेको कुनै प्रमाण भने उल्लेख गरेको छैन । यद्यपि ठूलो संख्यामा ल फर्मबाट चोरी भएका फाइल सार्वजनिक गरिसकेको छ । उक्त ल फर्मले भने ट्रम्प यसमा सम्बन्धित नभएको जनाएको छ । अर्थात् ल फर्मका अनुसार ट्रम्प यसमा ‘क्लाइन्ट’ हैनन् । साथै फर्मका प्रवक्ताले कुन ग्राहकसँग सम्झौता गरिएको थियो त्यो पनि प्रष्ट नभएको जनाएका छन् ।
तर साइबर आपराधिक उक्त समूहले भुक्तानी नदिए ट्रम्पसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने धम्की दिएको छ ।
‘अब प्रकाशित हुने व्यक्ति हुनेछन्, डोनल्ड ट्रम्प, त्यहाँ चुनावी दौड चलिरहेको छ । र हामीले एक टन मैला लुगा भेटेका छौँ,’ उक्त समूहले एक साताको समयावधि तोक्दै यस्तो लेखेको छ ।
समूहले अघि थपेको छ, ‘र तपाईँ मतदाताहरु, हामी तपाईँलाई यो जानकारी दिन सक्छौँ कि, यो प्रकाशनपछि तपाईँहरुले पक्कै पनि उनलाई राष्ट्रपतिको रुपमा देख्न चाहनुहुने छैन ।’
यद्यपि उक्त गिरोहले केही वैध सूचना सार्वजनिक गर्नसक्ने अमेरिकी मिडियाले जनाएका छन् । तर ट्रम्पका सूचनाबारे ल फर्मसँग सम्झौता भएको थियो वा भुक्तानी तिर्न दबाब दिएको हो भन्ने कुनै संकेत दिएको छैन । यसबारे ह्वाइट हाउसले भने कुनै प्रतिक्रिया दिएको छैन । पछिल्लो समय यस्ता ह्याकर गिरोह अमेरिकाका लागि चुनौती बन्दैआएका छन् ।

