सिराहा । श्रीमती हत्याको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अमर राउत पक्राउ परेका छन् ।२३ वर्षका अमरले २२ वर्षकी पत्नी पूजा पोद्दारको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका अमरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख अर्जुन प्रसद तिमिल्सिनाले जानकारी दिए ।
अमर र काठमाडौं महानगरपालिका–२० जैसीदेवलकी २२ वर्षीया पूजा पोद्दारबीच २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । प्रेम सम्बन्धपछि आफूखुसी विवाह गरेका उनीहरु विवाहपछि काठमाडौंको बाफलमा डेरामा बस्थे ।
प्रहरीका अनुसार उनीहरुको विवाहलाई अमरको परिवारले स्वीकार गरेको थिएन । अमर परिवारलाई मनाउन भन्दै घर गएका थिए । अमर काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा पनि सिरहा पुगेकी थिइन् । सिरहाको वस्तीपुर पुगेपछि उनले अमरलाई लिन बोलाएकी थिइन् ।
‘अमरले आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले भने, ‘साँझमा भेट्न पुगेका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।’
अर्को बिहे तय भएपछि हत्या
घर आएका अमरको धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकाकी एक युवतीसँग विवाह तय भएको थियो । ‘१९ फागुनमा तोकिएको विवाह पूजाको आगमनले असर पर्ने देखेर उनको हत्या गरेको देखिन्छ’ एसपी तिमिल्सिनाले भने ।
अमरले यसबारेमा साथीहरुसँग सल्लाह गरेर पूजाको हत्या गर्ने योजना बनाएको र वस्तीपुर चोकबाट कमला नदी किनारमा लगेको प्रहरीको भनाइ छ ।
पूजाको हत्यापछि अमरको १९ फागुनमा तोकिएको विवाह पनि भएन । ‘१७ फागुनमा उनको हत्या गरेर उनी फरार भएका थिए’तिमिल्सिनाले भने, ‘हामीले २० फागुनमै उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका थियौं ।’
मृतक पूजा र अमरको चिनजान सामाजिक सञ्जाल फेसबुकबाटै भएको थियो । अमर वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बखत दुवैको चिनजान पूजासँग फेसबुकबाटै भएको थियो ।
‘एक वर्षदेखि दुवै जना नियमित सम्पर्कमा रहेको र अमर नेपाल फर्केपछि दुवै जना विवाह गर्न राजी भएका रहेछन्’ तिमिल्सिनाले भने, ‘१३ माघमा अमर नेपाल फर्केपछि दुवैले विवाह गरेका हुन् ।’

















