सर्लाही , जेठ ४ गते आइतबार । सर्लाही जिल्लामा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका-३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।
दुबै जना हतियारसहित घुमिरहेको विशेष सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएसपी मदन कुँवले जनाकारी दिए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।
उनका अनुसार गाउँपालिका- ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

















