एजेन्सी । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले युक्रेन अमेरिकाले सिर्जना गरेको संकटको सिकार भएको बताएका छन्। उनले युक्रेनमा युद्ध अन्त्य गर्न इरानको समर्थन रहेको बताए। तर यो सङ्घर्षको जरा सबैले स्वीकार गर्नुपर्ने पनि उनले बताए। खामेनीको भाषण टीभीमा प्रसारण भएको हो। भाषणमा उनले युक्रेनको संकटले अमेरिकालाई विश्वास गर्न नसकिने देखाएको बताए।

आणविक सम्झौताका विषयमा अमेरिका र इरानबीच लामो समयदेखि तनाव जारी छ। यो गतिरोध डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले आणविक सम्झौता रद्द गरेपछि सुरु भएको हो। त्यसयता दुई देशबीच पटक–पटक वार्ता भएका छन्। तर अहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन। बाइडेनको कार्यकालमा वार्ता तीव्र भयो, तर समाधान निस्केन।
युक्रेन संकटबारे खामेनीले भने, ‘युक्रेनलाई अहिले अमेरिकाले त्यहीँ तानेको छ। युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, त्यहाँ रंगमा आधारित क्रान्ति सृजना गरेर, एउटा सरकारलाई ढालेर अर्कोलाई सत्तामा ल्याएर अमेरिकाले युक्रेनलाई यो अवस्थामा पुर्याएको हो।’
उनले युक्रेनको अवस्थाबाट महत्त्वपूर्ण पाठ सिक्नुपर्ने बताए। अमेरिका र युरोपमा भर परेका सरकारहरूले उनीहरूको समर्थन वास्तविक छैन भनेर बुझ्नुपपर्ने उनको सुझाव छ।
खामेनीले अगाडि भने – आजको युक्रेन भोलिको अफगानिस्तान हो। दुवै देशका राष्ट्रपतिले आफूहरू अमेरिका र पश्चिममा भर परेको तर पछि एक्लै छाडिएको बताएका छन्।

















