काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिध्याउन खोजेको तर आफूहरुले बचाएको बताएका छन् ।

एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरुको विरोधका कारण त्यो रोकिएको उनले बताए ।
पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । …केपी आएपछि त सिध्याइदिन्छन् ।’
एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको उनले बताए । ‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ । यो अनुदान रकमको रुपमा हुनुपर्दछ, वैदेशिक लगानीको रुपमा होइन,’ उनले भने ।

















