कास्की । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमसीसी सम्झौता गर्ने अनि सडकमा तमासा पनि गर्ने ?’ भन्दै माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादी केन्द्रलाई यस्तो प्रश्न गरेका हुन् ।

माओवादी केन्द्रले एमसीसीका नाममा तमासा देखाएको भन्दै अध्यक्ष ओलीले भने, ‘तमासाको पनि हद हुन्छ नि । सरकारमा पनि उनै छन्, प्रहरी देख्नै हुँदैन । ढुंगा हान्न लगाउँछन् । एमसीसी पास गर्ने भनेर अमेरिकालाई निवेदन पनि लेख्ने अनी ढुंगा पनि हान्ने ?’
एमसीसीका बारेमा फरक–फरक कुरा आइरहेको बताउँदै अध्यक्ष ओलीले थप भनेका छन्, ‘टेबल गरेका छन् सभामुखले, बाहिर ढुंगामुडा छ । साना मसिना कुरामा अल्झिएका छन् । हामी देश बनाउने कुरामा समर्पित छौं ।’
यसका साथै उनले पाँच दलीय गठबन्धन अहिले चुनाव गर्नै हुँदैन भन्ने पक्षमा रहेको भन्दै उनले भने, ‘अहिले चुनाब गरियो भने ‘एमालेले सिध्याउँछ’ भन्ने चिन्ता छ । प्रतिद्धता छ देश बनाउने ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘समाजवाद, जनवाद आउँछ’ भनेर सपना देखाएको आरोप लगाउँदै उनले भने, ‘हिजो माओवादीले बर्बाद बनाएका बहिर्गमित लडाकुकको बारेमा हामीले सोच्नुपर्छ ।’

















