रौतहट, जेठ ३ गते शुक्रबार । भारतीय सीमाक्षेत्रका क्वारेन्टाइनमा बसेकाहरू चोरबाटो हुँदै जिल्ला प्रवेश गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालेको छ । शुक्रबार रातिसम्म ६२ जनालाई नियन्त्रणमा लिइएको छ ।
रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणपछि घर फर्कन लागेका हुन् । दुवै देशको सीमा सिल भएकाले उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले क्वारेन्टाइनमा राखे पनि पछिल्लो समय सीमाक्षेत्र ल्याएर छाडिदिने गरेको छ । ‘हामीले सीमामा निगरानी बढाएका छौं, भारतका विभिन्न सहरबाट सीमासम्म आएकाहरू चोरबाटोबाट छिर्न खोज्ने गरेका छन्,’ जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले भने, ‘यसरी आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।’ प्रहरीका अनुसार अहिले जिल्लाका विभिन्न २६ स्थानका क्वारेन्टाइनमा ३ सय ७ जना छन् ।
चार दिनअघि भारतको दिल्ली र मुम्बईबाट आएर सीमाक्षेत्रमा बसेका १८ जनालाई एसएसबीले नेपाल प्रवेश गर्न छाडेको थियो । बन्जाराहा नाकाबाट प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरीले उनीहरूलाई उतै फर्काइदिएको थियो ।
प्रजिअ वासुदेव घिमिरेले भारतबाट प्रवेश गर्नेहरूको चाप बढ्न सक्ने भएकाले जिल्लाका १८ वटै स्थानीय तहलाई पाँच/पाँच सय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइएको बताए । ‘भारतबाट नेपाल आउनेहरूलाई क्वारेन्टाइनमा राख्नै पर्छ । उनीहरूलाई दुई साता राखेर पीसीआर गरेपछि मात्र घर फर्काउने योजना छ,’ उनले भने ।
