काठमाडौैं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताएका छन् । सर्वदलीय बैठकपछि सञ्चारकमीसँग प्रतिक्रिया दिँदै उनले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न आग्रह गरेको बताए ।

संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने सहमति भएको सभामुख सापकोटाले बताए ।एमसीसीबारे के निर्णय भयो भन्ने प्रश्नको जवाफमा सभामुख सापकोटाले भने सबैका कुरा सुनिरहेको र अन्तिममा आफ्नो भूमिका अनुसार कार्य गर्ने बताए । सभामुखको भूमिका अम्पायर र निर्णायकको भएको उनको भनाइ थियो । सभामुख सापकोटाले संसद् सञ्चालन गर्ने विषयमा जोड दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि संसद्को अवरोध कसरी हटाउने र त्यहाँ रहेका विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल भएको बताए । छलफलमा एमसीसीको विषयमा पनि छलफल भएको उनको भनाइ थियो ।
एमसीसी आगामी बैठकमा टेबुल हुने कि नहुने टुंगो लाग्न बाँकी रहेको उनले बताए ।सभामुख सापकोटाले बोलाएको बैठकमा एमाले बाहेकका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता थियो ।संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलपल गर्ने समझदारी भएको पनि सभामुख सापकोटाको भनाइ थियो ।

















