काठमाडौं । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल आजदेखि सञ्चालन हुँदैछ ।रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटरमा रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने महाप्रबन्धक झाले जानकारी दिए । झन्डै १० दिनसम्म रेल कुदाइने उनले बताए ।
१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उनले बताए । ‘रेलको प्राविधिक स्थिति बुझ्न दैनिक रेल गुडाउन लागेका छौं’ झाले भने, ‘कुनै प्राविधिक समस्या देखिए सुधार गर्छौं ।’
रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराइसकेको छ । रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकिएको उनले बताए ।
विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेका छन् । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको छ ।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।
यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।
