दार्चुला । सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाबाट सडक निर्माण गराउन स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मालपोत कार्यालय र नापी कार्यालय सिमरा बाराको कार्यक्षेत्रमा पर्ने साविक गाविसहरु बुनियाद, रामपुर कोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कैलालीको कार्यक्षेत्रमा समावेश गर्ने र मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्र भित्र पर्ने साविक हाजिपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।
खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णय समेत भएको छ ।
मन्त्रीपरिषद्को बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय पनि गरेको छ । ‘विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेण्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १५० बिलियन अमेरिकी डलर करिव १८ अर्ब रुपैयाँ सम्बन्धी सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने, तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।
प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।

















