मुकेश यादव लहान , बैशाख ३० गते । सिरहाको गोलबजारमा आज चौथो दिन पनि संयुक्त बजार अनुगमन भएको छ ।
सोमबार भएको संयुक्त बजार अनुगमनमा गोलबजार नगरपालिका वार्ड नं ७ र ८ मा पर्ने पुरानो चौक चोहर्वा बजारको आधा दर्जन किराना पसल तथा दालमोट,भुजिया उद्योगमा र गोलबजार वार्ड नं ६ का केही पसलको अनुगमन भएको उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले बताए ।
सोमबारको अनुगमनमा पनि अन्य दिनको बजार अनुगमन जस्तै म्याद नाघेको समानहरु फेला परेको, उद्योग ब्यापार संघले सार्वजनिक गरेको दर रेट अनुसार बिक्री बितरण भएको÷नभएको, लकडाउन पालनाको अवस्था सहितमा केन्द्रीत भई व्यबसायीहरुलाई चेतावनी सहित सल्लाह÷सुझाव दिने काम भएको ब्यापार संघ अध्यक्ष अग्रवालले बताए ।
ब्यापार संघ अध्यक्ष अग्रवालले भने, ब्यापारीको नैतिक र कानूनी कर्तब्य बिर्सी आफ्नो ब्यक्तिगत स्वार्थको लागि उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी त्यस्ता म्याद नाघेका सामग्रीहरु बिक्री बितरण गरेको पाईए वा कालो बजारी गरी सोझासाझा उपभोक्ताहरुलाई आखाँमा छारो हाल्ने काम गर्ने ब्यापारीलाई उद्योग ब्यापार संघले ऐन नियमानुसार कडा सजाय दिलाउने अध्यक्ष अग्रवालले चेतावनी पनि दिए । चार दिन देखि निरन्तर चल्दै आएको संयुक्त बजार अनुगमनमा लकडाउनको बेला पनि आ–आफ्नो उद्योग÷पसल खोली सौर्हाद्रपूर्ण बातावरणमा अनुगमन कार्यलाई सहज र सफल बनाई र अनुगमन समितिले दिएको सल्लाह सुझावलाई सहर्ष स्वीकार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका गोलबजारका सबै ब्यापारीहरुलाई ब्यापार संघ अध्यक्ष अग्रवालले धन्यवाद पनि ज्ञापन गरे ।
गोलबजार नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक रेशम कुमारी थापाले यस्तो कोरोना भाईरस(कोभिड १९)को महामारी र लकडाउनको बेलामा पनि अनुगमन कार्य सकृय र प्रभावकारीताका साथ अनुगमन कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आवश्यकता अनुसार पटक पटक बजार अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाईन् ।
गोलबजार नगरबासीको माँग र चाहना अनुरुप सदैव जनहितमा काम गर्न अग्रसर रहने र स्थानिय सरकारले आफ्नो जिम्मेवारीबाट रतीभर पनि नचुक्ने गोलबजार नगर प्रवक्ता एवं अनुगमन समितिका सदस्य उमेश बरालले प्रतिबद्धता जनाए ।
अनुगमनमा गोलबजार नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रेशम कुमारी थापा, उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवाल, उपाध्यक्ष आनन्द कुमार यादव, महासचिव राकेश प्रसाद गुप्ता, सुनचाँदी ब्यबसायी संघका का.बा. अध्यक्ष संदिप अग्रवाल, गोलबजार नगर प्रवक्ता उमेश बराल, वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादव, वार्ड नं ८ का वडा अध्यक्ष नागेन्द्र कुमार सिंह, वार्ड नं ७ का वडा अध्यक्ष जगत कुमार श्रेष्ठ, ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख ईन्सपेक्टर जनक पुरी, सशस्त्र प्रहरी सुरक्षा बल गोलबजारका प्रमुख ईन्सपेक्टर कृष्ण पौडेल, पत्रकार लगायतको सहभागिता रहेको थियो । म्याद नाघेका सामानहरुलाई आगो लगाई नष्ट गरेका छन् ।
तपाईको प्रतिक्रिया !
