काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्मल निवासदेखि सुरक्षित नभएको बताएका छन् ।देश गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर राजतन्त्रको झण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति आफूलाई त कोपभाजन पारिएको भन्दै थापाले सोमबार लिङ्देन पत्रमार्फत असुरक्षित रहेको बताएका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाई पनि हुनुहुन्न । तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई यो प्रवृत्तिको अवश्य शिकार हुनुहुनेछ ।
पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दूर्भाग्यपूर्ण छ ।’थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेपबारे पनि निष्पक्ष छानविन गर्न माग गरेका छन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरु गर्नुहोस्,’ उनले पत्रमार्फत् भनेका छन् ।
यसैबीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दलमा सामेल भएर आउन ठाडो चुनौती दिएका छन् ।पछिल्लो समय पूर्वराजा शाहले राजनीतिमा आफ्ना गतिविधिलाई सुक्ष्म ढंगले अघि बढाइरहेको संकेत गर्दै अध्यक्ष नेपालले राजनीति गर्न मन भए दलमा सामेल भएर आउन चुनौतीका सल्लाह दि ए ।सोमबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा उनले भने, ‘बस्न मन छ भने राम्रो व्यापारी भएर बसे हुन्छ ।
राजनीति गर्न भए कुनै पार्टीमा सामेल भए राम्रो । होइन राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्नुछ भने उपाध्यक्ष भएर बसे हुन्छ, सल्लाहकार भएर बसे हुन्छ । राजनीतिक मैदानमा आउनुछ भने टिकट लिएर आए हुन्छ । होइन भलाद्मी मान्छे बन्नुछ भने समाजको परिवर्तनको संवाहक, सामाजिक अभियन्ता भएर आए हुन्छ ।’अध्यक्ष नेपालले कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फाले पनि नेपाली राजनीतिको आकाशमा फेरि कालो बादल मडारिरहको बताएका छन् ।
तर, राजतन्त्र फर्कुन र बगेको नदी उकालो फर्कनु उस्तै रहेको उनको भनाइ छ ।‘कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फालिदिएका छौँ । अहिले फेरि नेपाली राजनीतिको आकाशमा कालो बादल मडारिन थालेको छ । राजालाई फर्काउने दुस्साहस गर्न खोजिरहेको छ,’ उनले भने, ‘राजालाई फर्काएर ल्याउनु भनेको नदीको प्रवाहलाई उल्टो घुमाउनुजस्तै हो । जसरी नदी फेरि उकालो जान सक्दैन, त्यसैगरी इतिहास पछि फर्कन सक्दैन ।
इतिहास पछि फर्केर जान सक्छ ।’अध्यक्ष नेपालले राजनीति गर्न नसके समाजको संवाहक सामाजिक अभियन्ता भएर पनि आउन भनेका छन् । उनले भने, ‘सामाजिक अभियन्ता समाजको लोकतान्त्रिक परिवेश निर्माण गर्ने गर्छ । आलोचना छ भने पनि सुन्ने धैर्यता राख्ने, विभिन्न संगठनका बीचमा प्रतिस्पर्धा हुने दिने, सहीको जीत र गलतको हार हुन्छ ।’

















