काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले पार्टीको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा हस्तक्षेप भएको बताएका छन् । आइतबार (आज) प्रेस विज्ञप्ती जारी गरेर नेता सिंहले पार्टीको वडा अधिवेशनमा सभापति देउवाकै निर्देशनमा हस्तक्षेप भएको बताएका हुन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन चयन गर्ने प्रक्रिया चलिरहेको भन्दै उनले सभापति देउवाले नै हस्तक्षेप गरेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘मतदान अधिकृत अपहरण गराउने, गोली चलाउन लगाई क्रियाशील सदस्यहरूमा भय, डर र त्रास दिलाउने कार्य कसैसँग लुकेको छैन ।’
सत्ताको आडमा यस्तो भइरहेको बताउँदै सिंहले सप्तरी–४ र रौतहट–४ मा पनि सभापति देउवाले प्रत्यक्ष रूपमा दबाब दिएको उनको आरोप छ । निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन देउवा पक्षले हरप्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरूपयोग गर्नु विधिसम्मत नहुने पनि उनले बताएका छन् ।त्यस्तै नेता सिंहले क्रियाशील सदस्यता लिनका लागि फारम नदिनेदेखि विभिन्न प्रकारका जालझेलसमेत गरेर अधिवेशनमा ढिलाइ गरिएको पनि बताएका छन् ।

















