मकवानपुर । नेपाली काँग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काँग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएको बताए ।

उनले नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशन उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारको नेतृत्व गर्दा केपी शर्मा ओलीले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप लगाए ।काँग्रेसको नेतृत्वमा देशमा शान्ति र संविधान जारी भएकाले आगामी दिनमा पनि काँग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहने उनले बताए ।
‘नेपाली काँग्रेस प्रजातन्त्र संस्थागत गर्न संघर्ष गरेको पार्टी हो, जब मुलुकमा सङ्कटको अवस्था आउछ तब काँग्रेसले निकास दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । त्यसैले देश र जनताको हितको रक्षाका लागि काँग्रेस प्रतिवद्ध छ,’ उनले भने ।
नेता सिंहले जंगलमा रहेर बुलेटमा विश्वास गर्ने पार्टीलाई ब्यालेटमा रूपान्तरण गराएर शान्ति प्रकृयालाई ठोस निकास दिन सक्ने काँग्रेसका त्यागी नेताहरुको चाहना अनुसार पार्टी चल्न नसकेको गुनासो पनि गरे ।उनले काँग्रेसको नेतृत्व परिवर्तनको आवश्यकता रहेकोले मतदाताले भोट दिँदा वीपी, गणेशमान र गिरिजाप्रसादको मूल्य मान्यतालाई अवलम्बन गर्न अनुरोध गरे ।
‘अरूसँग प्रतिस्पर्धा गर्नुपर्ने पार्टी आन्तरिक किचलोमा फस्यो, विपी, गणेशमान, गिरिजाप्रसादको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ,’ सिंहले भने । मुलुकमा स्थायी शान्तिलाई संस्थागत गर्न नेपाली काँग्रेसको नेतृत्व पंक्ति अब नयाँ सोच र चिन्तनका साथ अघि बढ्न र निर्वाचनलाई स्वच्छ प्रतिस्पर्धामा केन्द्रित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

















