धनुषा । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसको एकल सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै निधिले मुलुकलाई सफल रुपमा सञ्चालन गर्न काँग्रेसको एकल सरकार अपरिहार्य रहेको बताएका हुन् ।

संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस ड्राइभिङ सिटमा आउन आवश्यक रहेको उनले बताए । काँग्रेसले बहुमतको सरकार बनाउन एक्लै वडादेखि प्रदेश तथा संघसम्म चुनाव लड्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेदेखि नै तयारी गरे नेपाली काँग्रेस केन्द्रमा र प्रदेश २ मा समेत एक्लै सरकार बनाउन सक्छ ।’सबै जात, धर्म, मधेसी, आदिवासी, जनजाति लगायतका वर्गको समान प्रतिनिधित्व गराउन नेपाली काँग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने उनले बताए ।
नेपाली काँग्रेसको महाधिवेशनलाई आगामी निर्वाचनसँग जोडेर हेर्नका लागि समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘अहिलेदेखि नै तयारी सुरु गर्नुस्, कम्युनिष्टहरु वा तथाकथित मधेसवादी दलहरुले संविधानको सफल कार्यान्वयन गराउन सक्दैनन्, काँग्रेसले मात्रै गर्न सक्छ ।’
मधेसी जनताको अधिकार सुनिश्चित गराउन संविधान संशोधनका लागि काँग्रेस तयार रहेको पनि उनले बताए ।

















