काठमाडौं । नेपाल प्रहरीका कार्यालय सहयोगीको पनि स्तर वृद्धि हुने भएको छ ।हालसम्म प्रहरीमा भर्ना भएपछि एउटै पदबाट अवकाश पाउने कार्यालय सहयोगीले अब सुब्बा सरहको सुविधा लिएर घर जान पाउने भएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रहरी नियमावली, २०७८ को नवौं संशोधनले कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने व्यवस्था गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले कार्यालय सहयोगीका लागि पाँचवटा स्तर रहने गरी नियमावली संशोधनका लागि गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाइएको बताए । उनले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन ।’गृह मन्त्रालय स्रोतका अनुसार श्रेणी विहीन पदमा सुरुमा नियुक्ति हुने प्रहरी कार्यालय सहयोगी प्रथमस्तरका हुनेछन् ।
पाँचदेखि १० वर्षसम्म सेवा अवधि भएकालाई द्वितीयस्तर कायम गरिनेछ भने १० देखि १५ वर्षसम्मका कर्मचराीलई तृतीय स्तर कायम गरिनेछ ।स्रोतका अनुसार १५ देखि २० वर्षभन्दा कम सेवा अवधि भएकालाई चतुर्थ स्तर कायम गर्ने व्यवस्था गरिएको छ भने २० वर्ष वा त्यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गर्ने निर्णय भएको छ ।हाल सेवामा भएका कार्यालय सहयोगीलाई पनि यो नियम लागू भएसँगै स्वतः स्तर वृद्धि गरिने पनि उल्लेख गरिएको छ । उनीहरुको तलब सरकारले तोके अनुसार हुनेछ ।

















