कास्की । पोखरामा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ महतगौंडामा गत कार्तिक २० गते भाइटिकाका दिन भएको विवादमा चार जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा –२० भलाम घर भई पोखरा –१७ छोरेपाटन बस्दै आएका १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा –१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भनिने सुशील कार्की छन । कार्कीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट र गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरु माथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

















