काठमाडौं । नेकपा (एमाले)को जारी १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पनि निर्वाचन हुने भएको छ ।केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै आफ्नै इच्छाले ३०१ केन्द्रीय कमिटीको नाम सिफारिस गरेका थिए । तर उक्त नाम र संख्या भन्दा ३० बढी उम्मेदवार थपिएका छन् । अर्थात ओलीको सिफारिस भन्दा ३० जना बढीले केन्द्रीय सदस्य बन्न उम्मेदवारी दिएका छन् ।

एमालेको विधानमा हरेक प्रदेशबाट भूगोल तर्फको खुला अन्तर्गत पुरुष ६ जना र महिला ३ जना गरि ९ जना केन्द्रीय सदस्य बन्ने उल्लेख गरिएको छ । उक्त विधान अनुसार नै ओलीले प्रत्येक प्रदेशबाट नौ–नौ दरले सिफारिस गरेका थिए । तर अब उक्त संख्याभन्दा बढीको उम्मेदवारी परेपछि केन्द्रीय सदस्य पनि निर्वाचन प्रक्रियाबाटै छानिने निश्चित भएको छ । जसमा प्रदेश १ बाट १२ जनाले उम्मेदवारी दिएका छन् ।
बाग्मतीबाट ११, कर्णालीबाट १०, सुदूरपश्चिमबाट १५ जनाले उम्मेदवारी दिएको बताइको छ । त्यस्तैगरी अन्य प्रदेशका साथै, समावेशी, मधेशी, महिला, मुश्लिम, दलित र पिछडिएका क्षेत्रका लागि पनि कोटाभन्दा बढीले उम्मेदवारी दिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

















