वीरगञ्ज । जिल्लास्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ । कार्यालय प्रमुख (शाखा अधिकृत) गत २३ भदौमा अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रूपमा कार्य गर्दै आएका छन् । हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रूपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब सुब्बा मुखियाले बताए ।
उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई गएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा नै सञ्चालन हँुदै आएको हो । शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कप्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।

















