काठमाडौँ । युवाहरुलाई ‘हनी ट्र्यापिङ’मा पारेर ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–१ बलखुकी देवी थापा छन् ।
पक्राउ परेकी थापाले काठमाडौँका ६ युवालाई हनी ट्रयापिङमा पारी ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।प्रहरीका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो ।
उनले हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ ।
त्यसैगरी ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको जान्दाजान्दै ११ लाख ५० हजारको चेक दिएपछि ती युवा युवतीविरुद्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका थिए ।

















