काठमाडाैं । सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।
‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मात्रै छ। त्यसबाहेक अन्य सामग्री पनि प्रयाप्त छैन।
रूपन्देहीको मोतिपुरमा प्रहरीमाथि आक्रमण भएपछि भीड नियन्त्रणका लागि बाध्य भएर प्रहरीले प्रयोग गरेको अश्रुग्यास १० वर्ष अघि नै म्याद गुज्रेको थियो। त्यहाँ प्रयोग गरिएको अश्रुग्यास सन् २०१० मा म्याद सकिएको थियो। म्याद सकिएको अश्रुग्यास एक प्रकारको विष सरह मानिन्छ। त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ।
अश्रुग्यास जतिवेला म्याद सकिन्छ त्यतिबेला नै नष्ट गर्नुपर्ने हुन्छ तर अहिलेसम्म नष्ट नगरी राख्नुमा नेपाल प्रहरीको बाध्यता भएको प्रहरी स्रोतको दाबी छ। ‘हामीसँग अन्य कुनै विकल्प छैन भिड नियन्त्रणका गर्नका लागि यही अश्रुग्यास प्रयोग गर्नुपर्ने हुन्छ, हरेक यूनिटमा अहिले म्याद गुज्रेको अश्रुग्यास छ,’ प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

















