काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बन्नेहरुको टुंगो लागेको छ। मंगलबार सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा मिलाएसँगै माओवादीले आफ्ना तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो।
माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री भाग पाएको छ। उसले यसअघि नै पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाइसकेको छ। अब देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराज मन्त्री बन्न लागेका हुन्।
त्यस्तै, बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाउन लागेको हो। यद्यपि, उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन। यादव माओवादीको समानुपातिक सांसद् हुन्। उनी धनुषाकी हुन्।
बोधमाया ’जनयुद्ध’को तयारीको क्रममा मारिएका रामवृक्ष यादवकी छोरी हुन्। तत्कालीन संयुक्त जनमोर्चाको केन्द्रीय समितिमा रहेका रामवृक्ष यादवको २०५१ भदौ २ मा धनुषाको सबैलामा हत्या भएको थियो। उनी ‘मास्टर साहेब’को उपनामले पनि चिनिन्थे।
‘हाम्रा माननीय’ पुस्तकमा उल्लेख भए अनुसार, बोधमायाले २०४४ सालमा अखिल छैटौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आबद्ध भएकी थिइन्। २०५८ मा तत्कालीन नेकपा माओवादीनिकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी थिइन्।
त्यस्तै, २०६० मा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह-सेक्रेटरी, २०६८ सालमा तत्कालीन एनेकपा माओवादीको केन्द्रीय सदस्य, २०७० मा एमाओवादीकै पोलिटब्युरो सदस्य बनेकी थिइन्।
२०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपामा उनी केन्द्रीय कमिटी सदस्य थिइन्। उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सदस्य हुन्।
बोधमाया २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म नजरबन्दमा परेकी थिइन्।
