- सर्लाही, वैशाख २२ गते । सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव धरौटीमा रिहा भएका छन् ।सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका मिटरब्याजी रामबाबु राय यादवलाई अदालतमा एक करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएपछि उनी आइतबार हिरासतमुक्त भएका हुन् ।
अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए । १५ लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो ।
सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । ‘सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पक्राउ परेका उनीविरुद्ध गम्भीर अनुसन्धान हुँदै थियो । यही क्रममा उनले धरौटीबापतको रकम बुझाएपछि हिरासतमुक्त भएका छन्,’ उनले भने ।
ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले यादवलाई गत २३ पुसमा पक्राउ गरेको थियो । उनीविरुद्ध सर्लाहीका २८ जनाले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले यादवविरुद्ध २५ दिनसम्म गहन अनुसन्धान गरेको थियो ।

















