पर्सा,बैशाख २३ गते । लकडाउनको समयमा भारत जान लागेका २१ जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतको पश्चिम बंगालका २१ जनालाई ड्राईपोर्ट परवानीपुर सडक अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ रामगढवा परवानीपुरस्थित खुसी पेट्रोल पम्प नजिकैबाट मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।
खेतको बाटो हुदै भागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोधपुछको क्रममा आफूहरु सर्वोत्तम स्टील उद्योगमा काम गर्ने मजदुर भएको बताएका छन् ।
उद्योगबाट भागेर खेतमा लुकिरहेका उनीहरु सबैजना पश्चिम बंगाल घर भएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पश्चिम बंगालकै ठेकेदार इन्ताजुल हकले उनीहरुलाई तीन महिना पहिले उक्त उद्योगमा कामका लागि नेपाल ल्याएका थिए ।
लकडाउन हुनुभन्दा एकदिन पहिल्यै ठेकेदार पुनः पश्चिम बंगाल फर्किएका थिए । लकडाउनले गर्दा उनी अहिलेसम्म नआएको र उद्योगमा खाने, बस्ने राम्रो व्यावस्था नभएपछि उनीहरु घर फर्किनका लागि हिडेको बताएका छन् ।
ठेकेदारले खान र बस्नका लागि व्यवस्था नगरिदिएको र उद्योगमा पनि आफूहरुको खाने बस्ने व्यवस्था राम्रो नभएपछि बाध्य भएर घर जानका लागि हिडेको उनीहरुको भनाइ छ ।
उनीहरुको बारेमा थप सोधपुछ भइरहेको र यकिन गर्नका लागि उद्योगमा समेत बुझ्न पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए ।

















