काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरोले ह्यान्डीक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई पक्राउ गरेको छ । व्यूरोले लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेश लुकाउन प्रयोग गरिने ह्यान्डीक्राफ्टका सामानहरु तथा सो बनाउन प्रयोग हुने औजारसहितको कारखानावाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागूऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका–१३ का उर्पा तामाङसहित ७ जना रहेका छन् । व्यूरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।
कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिएको थापाले बताए । व्यूरोका अनुसार पक्राउपरेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैंकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ ।
पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरि म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

















