काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित कार्यक्रममा नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी ओलीको घोषणालाई महाराजधिराजको हुकुमको संज्ञा दिए । नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले महाराजको शैलीमा आममाफी दिएको घोषणा गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले केपी ओलीको बुद्धि हेर्दा रेल नआउने अनुमान आफूले पहिल्यै गरेका बताए । उनले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणवादी, मध्यमार्गी र क्रान्तीकारी तीन वटा धार रहेको बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले वर्तमान संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको र यसको खारेजीको माग गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका अघि कम्युनिष्ट पार्टी पनि चुकेको बताए । उनले सर्वोच्चको फैसला न्यायपूर्ण भएको र अहिलेको विकृतिलाई रोक्न सर्वोच्चको भूमिका अहम् रहेको बताए ।
