पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी शुक्रबार प्रस्ताव पेस गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा ३१ मत परेको छ। यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ। प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए। ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए।
जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए।

















