कपिलवस्तु । कपिलवस्तुुका नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै जिल्लाका एसपी र डीएसपी नगदसहित पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारीलाई पुरस्कृत गरेको हो ।
एसपी अधिकारीले कपिलवस्तुमा रहेर काम गरेको एक वर्ष पुगिसकेको छ । यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो ।
अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो । सो घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले भने, “उत्कृष्ट अनुसन्धान गर्नेलाई पुरुस्कृत गर्ने हाम्रो नीति नै हो । राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ । व्यावसायिक काम गर्नेको पक्षमा सधैँ संगठन रहन्छ ।”
