काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका उमाशंकर अरगरिया सकृयतापूर्वक कामलाई अगाडि बढाएका छन् । मन्त्रीमा शपथ लिए लगत्तै आफ्नो गृहनगर जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन अध्ययन समिति गठन गरी काम शुरु गरेका उनले आफ्नो विभाग अन्तर्गतका निकायलाई चुस्त–दुरुस्त बनाउन लागिपरेका छन् ।
पछिल्लो पटक उनले पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पर्यटन विभागलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा विभागको निरीक्षण गर्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्र नेपालको आर्थिक बिकासका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै यसको व्यवस्थित र उचित बिकासका लागि विभागले बनाउने कार्ययोजनालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।उनले पर्यटनसम्बन्धी भौतिक पूर्वाधार निर्माणका काम समयमा नै कार्यान्वयनको चरणमा लैजान र समयमा नै गुणस्तरीय काम सम्पन्न गर्न र जिम्मेवारीपूर्वक काम गर्न विभागलाई निर्देशन दिए ।
पर्यटनका प्रमुख क्षेत्रहरु होटल, ट्राभल, ट्रकिङ क्षेत्रको स्थापनामा समन्वय र सहजीकरणका साथ नियमित अनुगमनमार्फत कानूनी दायरा कायम गर्न तथा पर्वतारोहण सम्बन्धी क्षेत्रमा नेपालको विशिष्ट स्थान बनाउने योजन सहित काम गर्न पनि उनले निर्देशन दिए ।यसअघि नागरिक उड्डयन प्राधिकरणका प्रमुखसहित कर्मचारीसँगको अन्तरकृयामा बोल्दै मन्त्री अरगरियाले हवाई सेवामा सुधार ल्याउन निर्देशन दिए ।
हवाई सुधारको ठोस योजना ल्याउन हवाई सेवालाई व्यवस्थित नबनाइए हस्तक्षेप गर्ने उनले बताए । त्यसअघि मन्त्री अरगरियो विमानस्थलको स्थलगत अवलोकन गर्दै भएका सुधारको प्रशंसा गरेका थिए । विमानस्थललाई थप राम्रो बनाउन उनले निर्देशन समेत दिएका थिए ।
