काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरुमाथिको कार्वाही तत्कालका लागि रोकेको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले सांसदहरुमाथिको कारबाही रोकेर पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘आन्तरिक एकतालाई सुदृढ गर्नको लागि भइरहेको छलफलको विवेचना गरेका छौं, नेतृत्वको तर्फबाट एकताका लागि अन्तिम सम्म प्रयत्न जारी राख्नेबारे छलफल भएको छ,’ ।एकताका लागि गठित कार्यदल निष्क्रिय रहे पनि अन्य संयन्त्रबाट छलफल जारी राख्ने ज्ञावालीले जानकारी दिए । वार्ता टोलीमा नै रहेका केही नेतालाई एमालेले कारबाही गरेपछि कार्यदल निष्क्रिय बनेको हो ।
यसअघि जेठ १० गते बसेको स्थायी कमिटी बैठकले खनाल नेपाल पक्षका ११ जना नेतामाथि कारबाही गर्दै थप १२ जनासँग स्पष्टीकरण सोधेको थियो । मंगलवारको बैठकमा स्पष्टिकरण सोधिएका १२ जनामाथि कारबाहीको तयारी थियो । तर सहमतिका लागि प्रयास भइरहेको भन्दै कारबाही रोकिएको छ ।
‘हाम्रो प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरुलाई मूलधारमा राख्ने नै छ।’ प्रवक्ता ज्ञवालीले भने, कार्वाहीमा परेका नेतालाई पनि समेट्नु हुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने कुरालाई केही साथीले बडो गर्वका साथ लिनुभएको छ। ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ।’
