काठमाडौं । हवाई माफिया, ट्राभल एजेन्सी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केही अधिकारीले रोजगारीमा फर्किन चाहने नेपालीलाई ४ गुणासम्म भाडा लिएर विमान चार्टड गरेका छन् । निषेधाज्ञाका कारण बैदेशिक रोजगारबाट बिदामा आएका नेपाली नागरिक पुनः काममा फर्किन सकेका छैनन् ।
कोरोना महामारीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण उनीहरु रोजगारीमा फर्किन नपाएका हुन् । हजारौंको संख्यामा बिदामा आएका नेपाली अरब मुलुकमा फर्किनका लागि दैनिक जसो अनुरोध गरिरहेका छन् । देशको अर्थतन्त्र धानेको विप्रेषण(रेमिट्यान्स) पठाउने नेपालीलाई रोजगारी गर्दैआएको देशमा पठाउनका लागि सहजीकरण गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने चार्टड फ्लाइटको नाममा तिनै नेपालीसँग ४ गुणा भाडा असुलीमा लागेको छ । मंगलबार साउदी अरबको दमामका लागि हिमालयन एयरलाइन्सका २ वटा चार्टड विमान उडिसकेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय(टीआइएका) महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार हिमालयन एयरलाइन्सका ३ वटा विमान दमाम उडिसकेका छन् । बोन ट्राभल्सका रमेश पौडेल र सम्राट ट्राभल्सका सीएन पाण्डेले हिमालयन एयरलाइन्सको विमान चार्टड गरी प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म असुली गरेका छन् । जबकि साउदी अरबको दमामका लागि नियमित उडानमा प्रतिब्यक्ति न्यूनतम २७ हजारदेखि अधिकृतम ४० हजार रुपैयाँ मात्र भाडा हो ।
तर कोरोना महामारीमा कमाउधन्दा संचालन गर्न यी दुई ट्राभल्सका संचालक पौडेल र पाण्डेले प्रतिब्यक्ति ५० हजार रुपैयाँ पर्यटन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म घुस बुझाउने सर्तमा चार्टड गर्ने अनुमति लिएको खुलासा भएको छ । हिमालयन एयरलाइन्सका संचालक यति एयरका सोनामछिरिङ शेर्पा हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई चार्टर्ड अनुमति नदिई हिमालयन एयरलाइन्सलाई दिने कार्य पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले गरेका छन् । बोन र सम्राटका संचालकद्वय पौडेल र पाण्डेले सचिव कोइरालासँग सेटिङ मिलाएर साउदी अरबको दमामका लागि चार्टड अनुमति लिएका हुन् ।
सचिव यादव कोइरालालाई प्रभावमा पारी बोन र सम्राटले चार्टड उडानबाट ब्रम्हलुट गर्न छुट पाएका छन् । १८ मे साउदीको दमामका लागि एउटा उडान गरिएको छ । जुन उडानमा साउदी जान आएका भारतीय नागरिकका लागि चार्टड गरिएको दाबी गरिएको छ । तर उडानमा भारतीयको नाममा नेपालीलाई पनि लगिएको छ । र, नेपालीसँग न्यूनतम १ लाखदेखि १ लाख २ हजार रुपैयाँसम्म असुली गर्ने काम ट्राभल्सका संचालक पौडेल र पाण्डेले गरेका छन् ।
महामारीमा चार्टर्ड फ्लाइट गरी कमाउधन्दा संचालन गर्ने कार्यमा पर्यटन मन्त्री भानुभक्त ढकालसमेत मिलेको आरोप छ । प्रतिब्यक्ति ५० हजारका दरले कमिसन दिनेगरी चार्टर्ड फ्लाइट गरी महामारीमा कमाउन छुट पर्यटन मन्त्री ढकाल र सचिव कोइरालाले दिएका छन् । चार्टर्ड फ्लाइटमा भएको अनियमितताबारे पर्यटन मन्त्रालयका सचिव यादव कोइरालासँग प्रतिक्रियाका लागि ९८५१२.### मा पटक पटक सम्पर्क गर्दा पनि उनले रिसिभ गरेनन् ।
