काठमाडौं । अक्सिजन उद्योगहरुले उत्पादन गरेका सिलिण्डरहरुमध्ये ४० प्रतिशत सिलिण्डर सिस्टमबाटै हराउने र चोरी हुने गरेको छ । पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गर्दा नेपालमा उत्पादित सिलिण्डर भारततर्फ पनि चोरी निकासी हुने गरेको छ ।
काठमाडौ उपत्यका लगायत देशभरका अस्पतालहरुमा माग अनुसारको अक्सिजन आपूर्ति हुन नसकेको बेला अक्सिजनको कालाबजारी बढेको हो । यतिबेला अस्पतालहरुमा सामान्य अवस्था भन्दा दुई गुणादेखि ५ गुणासम्म अक्सिजनको माग बढेको छ ।अक्सिजनको माग ह्वात्तै बढेपछि कोभिडका बिरामीहरुलाई अस्पतालहरुले पनि महँगो दरमा अक्सिजन विक्री गर्न थालेको छन् । अस्पतालहरुमा अक्सिजनको अभाव भएको गुनासो बढेपछि सरकारले गोप्य रुपमा निगरानी बढाएको हो ।
कोरोना संक्रमितहरुको संख्या बढिरहेको बेला अस्पतालहरुमा अक्सिजनमा अभाव बढेपछि सुरक्षा निकायले गोप्य रुपमा अनुमगन र कारबाही बढाएको छ ।उद्योगहरुले उत्पादन गरेका अक्सिजनका सिलिण्डरको ठूलो सिमेन्ट, छठ, स्टिल उद्योगहरुमा थन्किएकोले पनि बजारमा अक्सिजनको अभाव भएको अक्सिजन उद्यमीहरुले दाबी गरेका छन् ।
कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेकोले अस्पतालहरुमा २ देखि ५ गुणासम्म अक्सिजनको माग बढेको नेपाल अक्सिजन उत्पादक संघले बताएको छ । नेपाल अक्सिजन उत्पादक संघका अनुसार नेपालभरका अस्पतालहरुमा दैनिक १२ हजार भन्दा बढी सिलिण्डरको आवश्यकता रहेको छ ।काठमार्डाै उपत्यकामा अस्पतालहरुमा नै दैनिक ८ हजार अक्सिजन माग भइरहेको छ ।

















