काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताए ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

















